नेपाल मेडिकल कलेज संक्रमितहरुलाई डिस्चार्ज गर्दै, मेडिसिटीले नयाँ भर्ना नै नलिने
कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणबाट आक्रान्त काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले उपचारका लागि भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्ने सार्वजनिक सूचना नै जारी गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ आत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले अक्सिजन आपूर्ति नभएको र आज (वैशाख २८ गते) दिउँसो ४ बजेसम्मका लागि मात्र अक्सिजन उपलब्ध हुने भएकाले त्यसपछि बिरामीले आफ्नो बन्दोबस्त आफैं गर्न सूचना जारी गरेको छ ।
अस्पताल प्रशासन अक्सिजन उपलब्ध हुन नसकेपछि उत्पन्न हुने गम्भीर परिस्थिति अगावै बिरामीहरुको डिस्चार्ज गर्न लागिएको व्यहोरा स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धलाई जानकारी गराएको जनाएको छ ।
यसै गरी नेपाल मेडिसिटी अस्पतालले कोभिड १९ संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने जानकारी गराएको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै तत्कालको परिस्थितिमा अक्सिजनको अभाव भएको भन्दै भर्ना नलिने जानकारी गराएको हो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका विारमीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौ।’
प्रतिक्रिया राख्नुहोस्