खेलविविध

अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई

मोरङ सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ ।

भलिबलको उपाधि सुन्दरहरैँचालाई

नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै सुन्दरहरैँचाले उपाधि उचालेको हो । सुन्दरहरैँचाले लेटाङलाई पहिलो सेटमा २५-१० र दोस्रो सेटमा २५-१४ साथै तेस्रो सेटमा २५-१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ ।

मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार पाँच सय तथा दोस्रो हुने लेटाङ नगरपालिकाले रू ३३ हजार सात सय ५० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो । खेलको महत्व दर्साएर महिला खेलाडीलाई उचित साथ सहयोग गर्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगङ्गा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.