जुन ६ मा एनआरएनए नागोयाको क्षेत्रीय अधिवेशन- तीन सदस्यीय निर्वाचन कमिटी गठन
एनआरएनए जापान, नागोया क्षेत्रीय समितिको आठौं क्षेत्रीय अधिवेशन आगामी जुन ६ तारिक आइतवार तोकिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि एनआरएनए जापानका सल्लाहकार विमल अधिकारी संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको छ ।
समितिका सदस्यहरुमा एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहनुभएको छ । एनआरएनए जापानमा नागोया क्षेत्रलाई महत्वका साथ हेर्ने गरिन्छ ।
संयोजक अधिकारीले नयाँ समिति चयन सकेसम्म सहमतिको आधारमा सर्वसम्मत गर्ने र नभएमा जुन १० तारिक अनलाईन भोटिङ्गद्वारा छिनोफानो गरिने बताउनुभयो ।
अहिलेसम्म यस क्षेत्रीय समितिका संयोजकमा मनोजवम मल्ल, गंगा घर्तिमगर र ईन्द्र पराजुलीको चर्चा छ । मल्ल अहिलेका नागोया क्षेत्रका उपसंयोजक हुनुहुन्छ भने घर्तिमगर कोषाध्यक्ष र पराजुली भने नायोगा क्षेत्रीय समितिमा धेरै अगाडिदेखि समितिमा बसेर काम गरेको बताउनुहुन्छ ।
एनआरएनए नागोया क्षेत्रीय समितिले उमेदवारहरुका लागि शुल्क पनि तोकेको छ । जस अनुसार क्षेत्रीय संयोजकका लागि पचास हजार, उपसंयोजकका लागि चालिस हजार येन तोकिएको छ । त्यस्तै सचिवको लागि तीस हजार, उपसचिवको बीस हजार, कोषाध्यक्षका लागि तीस हजार, सहकोषाध्यक्षकाा लागि बीस हजार र कार्यसमिति सदस्य एवं मनोनित सदस्यलाई दश हजार येन उमेदवारी शुल्क लाग्ने छ ।
यतिवेला जापानका पनि कोरोना संक्रमण बढिरहेको र संक्रमण नघटेमा कार्यक्रम भर्चुअल माध्यमबाट गरिने एनआरएनए नागोया क्षेत्रीय समितिका संयोजक श्याम शितलले बताउनुभयो ।
जापानमा हाल करीब १० हजार एनआरएनएका सदस्यहरु रहेको र नागोया क्षेत्रमा १५ सय हाराहारीमा सदस्य रहेको बताइन्छ ।
एनआरएनको चुनाव आउँदै गर्दा निकै सक्रिय हुने र गुट, उपगुटमा विभाजित भएर नेतृत्व हत्याउने परिपाटी बढिरहेकाले संस्थाको गरिमामाथि नै आँच आइरहेको गुनासो बढिरहेका बेला नागोयामा लामो समय रहेका एनआरएनए जापानका सचिव विष्णुप्रसाद घिमिरेले संस्थाको गरिमा राम्रोसंग नबुझेकालाई तत्काल नेतृत्वमा ल्याउन नहुने तकै गर्दै जापानमा रहेका हरेक नेपाली नेतृत्व चयनका विषयमा सचेत रहेको बताउनुभयो
त्यस्तै नागोया क्षेत्रीय समितिमा उपाध्यक्ष र हाल संरक्षक रहनुभएका अर्जुन केसीले गत अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आफूले संयोजकको उमेदवारी स्थगित गरेको स्मरण गर्दै नेपालीको साझा संस्था एनआरएनएमा गुट, उपगुटभन्दा सहमतिमा नेतृत्व चयन हुनपर्ने बताउँदै आफूले संयोजकको नेतृत्व पाए सबैलाई मिलाएर लाने दावी गर्नुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्