सरकार अहिले जनता बचाउने अभियानमा : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।”
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको र अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी उभिएको पनि बताउनुभयो ।
भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उहाँले यो सामान्य घटना नभएको बताउनुभयो । उहाँले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।
“भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ”, उहाँले भन्नुभयो ।
शरणार्थीको बिषयमा दबाब आइरहेको बताउँदै उहाँले भन्नुभयो, “जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।”
नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको र छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको बताउँदै भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने बिषयमा भने छलफल नभएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्