दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा हुनुभएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबर प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताउनुभयो ।
पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्