कोरोनाको हटस्पट पर्सा- आइसोलेसन भरियो, संक्रमितलाई आइसियु, प्रसुति, मेडिकल, सर्जिकल, अर्थोपेडिकमा
वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्ड भरिएको छ । एकाएक कोरोना संक्रमित बढेपछि अस्पतालको आइसियु, प्रसुति, मेडिकल, सर्जिकल, अर्थोपेडिक वार्डमा संक्रमितलाई राखिएको छ ।
त्यस्तै अस्प्तालमा कोरोना उपचारमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अरु त्रास बढेको छ । अस्पतालमा कोरोना सङ्क्रमितको सख्या बढ्दै गएपछि पेडियाट्रिक विभागमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालको आइसोलेसन वार्डमा खटाइएको थियो । छत्तीस वर्षीया स्टाफ नर्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि अस्पतालमा कार्यरत अन्य सबै स्वास्थ्यकर्मी त्रासमा रहेका छन् ।
बुधबार साँझ परीक्षणमा पोजेटिभ देखिएका तीन जनामध्ये एकजना स्टाफ नर्स रहेकी अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिनुभयो । पर्सा जिल्लामा एक स्टाफ नर्स र दुईजना पत्रकारसहित कोरोना सङ्क्रमितको सङ्ख्या ८५ जना पुगेको छ । पर्साको सदरमुकाम वीरगञ्ज र पर्साकै विभिन्न ग्रामीण क्षेत्रमासमेत सङ्क्रमित फेला परेका हुन् ।
पहिले वीरगञ्जमा मात्र पुगेको कोरोना ग्रामीण क्षेत्रमा पुगेको छ । पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ , २ , ३ मा मात्र देखिएको कोरोना भाईरसको सङ्क्रमण वडा नम्बर ४ , १६ , १७ , १८ मा समेत देखिएको छ । बुधबार एकै दिन पर्सामा ५७ जना नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ८५ पुगेको हो ।
बुधबार राती सवा १० बजे सङ्क्रमित पुष्टि भएका १८ जनालाई अस्पतालमा स्थान अभाव भएका कारण सङ्क्रमित पुष्टि भएका १८ जना शुक्रबार बिहान यथास्थानकै क्वारेन्टाईनमा राखिएको अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिनुभयो । राति सवा १० बजे सङ्क्रमणको पुष्टि भएका १८ जनालाई भने अस्पताल नलगिएकाले केही क्वारेन्टाईन छन भने केही आफ्नै घरमा अलपत्र परेका हुन् ।
‘पहिलेदेखि नै ६९ जना सङ्क्रमित ल्याएर राखिसकिएको छ, अब थप सङ्क्रमित राख्ने ठाँउ नै छैन । हामीले थप सङ्क्रमित अब राख्न सक्दैनौँ ।’ आइशोलेशन वार्डको क्षमता ७० शैयाको मात्र छ ।’ अस्पतालका मेसु डा. मदन उपाध्यायले भन्नुभयो ।
सुरुमा ५ शैयाको आइशोलेसन वार्ड बनाइएको र पछि सङ्क्रमित थपिँदै जाँदा २५ , ५० हुँदै ७० शय्याको बनाइएको तर अब थप बेड राख्ने ठाँउ नै नभएको, अस्पतालको आइसियु, प्रसुति, मेडिकल, सर्जिकल, अर्थोपेडिक गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना सङ्क्रमित राखिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्