कर्पोरेट/पर्यटन

ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी

राजधानी काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् ।

ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन् ।

‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो ।

सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताउनुभयो । “हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ”, उहाँले भन्नुभयो, “अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।”

पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।”

ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.