पूर्वसभासद शेर्पा र ‘बादल’का छोरालाई पक्राउ गर्न अनुमति
नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्नता देखिएका पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।
यसै गरी अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रतीकविरुद्ध शुक्रबार पक्राउ अनुमति जारी गरेको गृह मन्त्रालयका एकजना अधिकृतले जानकारी दिनुभएको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेको बताइएको छ ।
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना थुनामा छन् ।
प्रतिक्रिया राख्नुहोस्