राजनीति

मतदानदेखि गणनासम्म प्रभावित पार्न खोजियो : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणनासम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै निर्वाचनमा भएका अनियमितताका विषयमा दिइएको उजुरीको सुनुवाई समेत नभएको भन्दै यस्तो आरोप लगाउनुभएको हो ।

विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदनअनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।

“जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो” ।

विज्ञप्तिमा भनिएको छ, “यसैले संविधान निर्माणको क्रममा नेकपा (एमाले) राज्यको माथिल्लो तह सङ्घीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।”

मतदानको समयमा दोलखाको बैतेश्वर र तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचतौरा, अछामको साफेबगर, पञ्चदेवल, मंगलसेन, बझाङको छबिसपाथिभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौ स्थानमा बुथ कब्जा गर्ने प्रयास भएको उल्लेख गरिएको छ।

पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने र ताप्लेजुङमा मृत्यु भएकाको पोष्टमार्टम समेत नगरिएको भन्दै एमालेले खेद प्रकट गरेको छ।

यसैगरी, मतगणनाको क्रममा उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिह्नमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गठबन्धनलाई फाइदा पुग्ने गरी गरिएको आरोप एमालेको छ।

यससँगै एमालेले मतगणना कार्य अनावश्यक ढिलो भइरहेको भन्दै मतदान छिटो छरितो र निष्पक्ष हुनुपर्ने माग गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.