सार्वजनिक पद विकासका लागि नभएर भ्रष्टाचारका लागि भयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको सोमबारको बैठकमा भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
उहाँले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौं आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
यसै गरी अर्का सांसद ज्ञानु बस्नेत सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उचित छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचारलाई निर्मूल गर्न आम नेपालीको एकता चाहिने भन्दै विगतका भ्रष्टाचारको पनि छानबिन गरिनुपर्ने बताउनुभयो ।
सांसद सुनिता बरालले भ्रष्टाचारले राजनीति क्षेत्रमा पनि वितृष्णा पैदा गरेको भन्दै भ्रष्टाचारसम्बन्धी विद्यमान कानुन संशोधन गरी दोषीलाई उम्कने वातावरण नबनाउन माग गर्नुभयो ।
सांसद सूर्यप्रसाद ढकालले समाजका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै विसं २०५८ देखि हालसम्मका सबै क्षेत्रका उच्चतहका अधिकारीमाथि छानबिन गर्न उच्च उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो । सांसद सोनु मुर्मुले भ्रष्टाचार र अनियमितताले देशको बदनाम भइरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद बिजुला रायामाझीले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले शिक्षा क्षेत्रका सबैखाले समस्याको समाधान खोज्न नीतिगत सुधार गरिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्