बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याउनुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो ।
यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह (ठकुरी) ५१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गर्नुभयो ।
यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गर्नुभयो । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामराजा महर्जनले ४७५ मत प्राप्त गर्नुभएको छ । कुल ४८ हजार ३०४ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । सो नगरपालिकामा १३ वडा छन् ।
प्रतिक्रिया राख्नुहोस्