राजनीति

कृषिमा आबद्ध जनशक्तिलाई औद्योगिक जनशक्तिमा रुपान्तरण गर्न डा. भट्टराईको सुझाव

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा दुई तिहाई जनसङख्या कृषिमा आवद्ध भए पनि कृषि निर्वाहमुखी मात्र रहेको र पर्याप्त रोजगारी सिर्जना गर्न नसकेकाले कृषि जनशक्तिलाई औद्योगिक जनशक्तिमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ ।

डा. बाबुराम भट्टराई

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले विकसित मुलुकमा ५ प्रतिशतभन्दा कम जनसङ्ख्या कृषिमा आवद्ध भएको बताउँदै कृषिमा संलग्न जनशक्तिलाई न्यूनीकरण गर्दै कृषिमुखी अर्थतन्त्रलाई सेवामुखी अर्थतन्त्रका रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले उच्च आर्थिक वृद्धि हासिल गरी समूचित वितरण प्रणालीको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठूला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्नेमा जोड दिँदै उहाँले कृषि, उद्योग, सेवा र पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने बताउनुभयो ।

अर्थतन्त्रको विकासमा देखिएको संरचनात्मक समस्या समाधान गर्न क्रान्तिकारी ढङ्गले सोच्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अबका दशक रुपान्तरणकारी नीति लिनुपर्ने बताउनुभयो ।

राजनीतिक, प्रशासनिक र कानुनी क्षेत्रमा सुधार गरेर मात्र आर्थिक वृद्धि हासिल गर्न सकिने बताउँदै उहाँले नेपालको संसदीय प्रणालीले राजनीतिक र नीतिगत स्थिरता नदिने भएकाले यसलाई सच्याएर जानुपर्ने बताउनुभयो ।

“विकासका आवश्यकताका आधारमा प्रशासनिक संरचना बनाइनुपर्छ, ऐन कानुन र परम्परागत न्याय प्रणालीमा सुधार गर्नुपर्छ, विकास विरोधी न्यायिक संरचना बदल्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।

बाह्य परिनिर्भरताका कारण नेपालको अर्थतन्त्र पछाडि परेको भन्दै उहाँले तुलनात्मक लाभका वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । “आयात र निर्यातको खाडल डरलाग्दो छ, यसलाई नसच्याइ हुँदैन”, उहाँले भन्नुभयो, “छिमेकीसँग गम्भीर ढङ्गले कुरा गरेर नेपालले स्पष्ट नीति लिनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.