सगरमाथाको चुचुरोमा आरोहीको भीड
विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणका क्रममा एक हप्तायता ३ सय २५ जनाभन्दा बढी आरोही चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ ।
उहाँका अनुसार गत वर्षभन्दा एक साता ढिलो गरी सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो एक सातामा उल्लेख्य आरोही चुचुरोमा पुगेका छन् । बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ ।
निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताउनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिनुभयो ।
बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।
विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्