स्थानीयतह निर्वाचन

गोकर्णेश्वर र शङ्खरापुरका जनप्रतिनिधिलाई शपथ

काठमाडौंको गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाका जनप्रतिनिधिलाई आज शपथ गराइएको छ । काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत एवं काठमाडौँका वरिष्ठ जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले क्रमशः दीपक रिसाल र रमेश नापितलाई शपथ गराउनुभएको हो ।

शपथपछि गोकर्णेश्वरका नगर निर्वाचन अधिकृत रञ्जु गौतमले नगरप्रमुख रिसाललगायत त्यस नगरपालिकाका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका निर्वाचन अधिकृत शारदा राउतले त्यस नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलगायत जनप्रतिनिधि र शङ्खरापुर नगरपालिकाका नगर निर्वाचन अधिकृतले त्यस नगरपालिकाका नगरप्रमुख नापितलगायत जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कागेश्वरी मनोहरामा भने आज बिहान मात्र निर्वाचन परिणाम सार्वजनिक भएकाले शपथ ग्रहण गर्न बाँकी छ । नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुसमा सहभागी हुनुपर्ने भएकाले सोमबार शपथ ग्रहण हुने कागेश्वरी मनोहराकी नगर निर्वाचन अधिकृत राउतले सुनाउनुभयो ।

नगरप्रमुखले जिल्ला न्यायाधीशसँग शपथ लिएपछि उपप्रमुख र अन्य जनप्रतिनिधिलाई शपथ गराउने कानुनी व्यवस्था छ । तीनवटै नगरपालिकामा अन्य जनप्रतिनिधिको शपथ भने सोमबार हुने जनाइएको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा पूर्व र नवनिर्वाचित जनप्रतिनिधिले सहमति र सहकार्यका आधारमा नगर क्षेत्रको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.