विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म शनिबार भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् ।
कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवर्द्धन, विराट–बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त दौडमा रावतले २३ किलोमिटर दूरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी उक्त दौडमा सुशीलकुमार शाही द्वितीय, मोहनदेव जोशी तृतीय स्थान प्राप्त गरी कमशः रु ७५ र ५० हजार नगर पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै होमलाल श्रेष्ठ चौथो, श्रीकास राई पाँचौँ र किरणसिंह बोगटी छैटौँ स्थान प्राप्त गरी रु १५–१५ हजार प्राप्त गर्नुभएको छ । उक्त पुरुष दौड प्रतियोगितामा ५४ जनाको सहभागिता रहेको थियो । यसैगरी महिलातर्फको पाँच किलोमिटर दौडमा रेखा विष्टले १९ मिनेट चार सेकेण्डमा दूरी पार गरी प्रथम स्थान प्राप्त गरी रु २५ हजार प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी द्वितीय सीमा थारू चौधरी तृतीय विर्सना कुमाल र चौथोमा अन्सु मण्डलले क्रमशः रु २०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नुभएको थियो । महिलातर्फ १९ जनाको सहभागिता रहेका थिए भने १० र ११ वर्षीया बालिका जुही र जुनी राईको समेत सहभागिता रहेको थियो ।
हाफ म्याराथुन विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट सुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टीचोक हुँदै केशलिया रोड, भीमपुरचोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा सम्पन्न भएको थियो ।
प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री जीवन आचार्यले सुनसरीको बर्जुतालमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय सरकारको समेत लगानीमा विराटराजाको दरबार एवं बर्जुतालमा थप लगानी ल्याउनका साथै भारतीय पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने धारणा राख्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य अमृत अर्याल, रामदेव यादव, मन्त्रालयका सचिव डा सञ्जीवकुमार राई, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय र सुनिल श्रेष्ठले यस क्षेत्रको विकासबाट मुलुकको समृद्धि झल्कने विचार राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्