विपक्षी गठबन्धन रणनीति बनाउँदै, सभामुख संविधानविदहरुसंग परामर्शमा
सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै छ । आफूहरुले बुझाएको १ सय ४९ सांसदको समर्थनसहितको प्रधानमन्त्री दावेदारी राष्ट्रपतिले अस्वीकार गरेर संसद विघटन गरी निर्वाचनको घोषणा गरेपछि विपक्षीहरु भावी रणनीति बनाउन छलफल गर्न लागेका हुन् ।
मध्यरातमा संसद भंग भएपछि विपक्षी नेताहरुले यसबिरुद्ध कडा कदम चाल्ने संकेत दिएसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह तथा जसपाको बाबुराम उपेन्द्र समूह विपक्षी गठबन्धनमा सामेल छन् । उनीहरुकै समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावी पेश गरिएको थियो
उता सभामुख अग्नि सापकोटा विकसित परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सघन छलफलमा जुटनुभएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थाल्नुभएको छ । सम्भवतः शनिबार नै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन भामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।
उता विपक्षी गठबन्धनमा रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले चुनाव घोषणालाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ भनेर टिप्पणी गर्नुभएको छ ।
नेपालले संविधानको मर्ममाथि कुठाराघात भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गर्दै भन्नुभएको छ ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो,’ नेता नेपाल भन्छन्, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’
प्रतिक्रिया राख्नुहोस्