राजनीति

सबैले गम्भीर भएर सोच्ने बेला आएको छ : पूर्व राजा ज्ञानेन्द्र

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाको उजागर भएपछि यो राष्ट्रिय लज्जाको विषय बनेको छ । यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गर्नुभएको छ ।

सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’

सम्बोधनका क्रममा उहाँले नेपाली स्वाभिमान, वीरता, श्रम, सीप सबै खोसिएको त छैन भन्ने प्रश्न गर्दै यस्ता दृष्यले सबैको आँखा रसाएको टिप्पणी गर्नुभयो ।

पछिल्लो समय सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको बताउदै शाहले सबै जनताले अब गम्भीर भएर सोच्ने बेला आएको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्वारा युगान्तकारी परिवर्तन चाहान्छौं । सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अंगाल्ने रु देश भन्दा ठूलो केही हुँदैन । सोचौं दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’

त्ययसै गरी उहाँले सुदूरपश्चिमका विभिन्न जिल्लामा विगतमा सञ्चालनमा रहेका कलकारखाना तथा साना उद्योगहरु कता बिलाए, किन हराए भन्ने प्रश्न समेत गर्नुभयो ।

पूर्व राजा शाहले नेताहरुले देशका समस्यालाई नदेखेको र नसुनेको जस्तो गरिरहेको बताउँदै भन्नुभयो ‘देशका समस्यालाई नदेखेको, नसुनेको जस्तो गरेर, बटारिएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काउने काम भइरहेको छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.