मुम्बई ईन्डियन्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो । मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए भने सुर्य कुमार यादव ३३ रन बनाए ।
यस्तै तिलक बर्मा २६ रन बनाई आउट भए भने नेहाल वधेराले २३, ईशान किशनले १५ रन बनाउँदा टिम डेभिडले १३ र कप्तान रोहित शर्माले ११ रन जोडे । लखनउका लागि नविन उल हकले ४ विकेट लिए भने यश ठाकुरले ३ विकेट लिँदा मोहसिन खानको भागमा १ विकेट रह्यो ।
मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो । लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए भने कायल मेयर्सले १८ र दीपक हुडाले १३ बलमा १ छक्काको सहयोगमा १५ रन बनाउनु बाहेक लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मुम्बईका लागि आकाश मधवालले ५ विकेट लिए भने क्रिस जोर्डन र पीयुष चावलाको भागमा समान १-१ विकेट रह्यो । जितसँगै मुम्बईले अब शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ र उपाधिको लागि चेन्नाईसँग खेल्नेछ ।
यता ईलिमिनेटर खेलमा पराजित लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्