जन सरोकार

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी

प्रदर्शनीमा कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ तथा सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति राखिने प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । प्रदर्शनीको तयारी पूरा भएको उहाँले बताउनुभयो ।

गत फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृति यसपाली राष्ट्रिय प्रदर्शनीमा राखिने छ । प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीले राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० गरी त्यहाँबाट छानिएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा समेटिएको तथा दुई चरणको छनोटले उत्कृष्ट कृति समावेश गर्न लागिएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताउनुभयो । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उहाँको भनाइ छ ।

मानन्धर र श्रेष्ठलाई अरनिको सम्मान
यसपालिको अरनिको ललितकला राष्ट्रिय प्रज्ञासम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र अग्रज कलाकार श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार)लाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । प्रतिष्ठानले यसपटक ६६ पुरस्कार प्रदान गर्न लागेको छ । यसपटक प्रदेशगत रुपमा कलाकारले हरेक विधाबाट पुरस्कार पाउने छन् ।

प्रदर्शनीमा रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्थ, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ ।

ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्रका पत्रकार सुकृत नेपाल र द राइजिङ नेपालकी रेनुका ढकाललाई प्रदान गरिने भएको छ । ललितकला लेखन पुरस्कारको राशि रु ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि रु ३०-३० हजार रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिने छ ।

यस वर्ष थपिएको विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी)लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु ३० हजार रहेको छ ।

यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । यसपटक ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ मूल भावमा रहेर भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.