कोशीप्रदेश

जनताको जीवनस्तर सुधार गर्नुपर्ने आजको आवश्यकता

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रदेशप्रमुखको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आमूल परिवर्तनका निम्ति गरिएको आन्दोलनको समयोचित नेतृत्व प्रदान गर्ने दूरदर्शी नेता तथा आन्दोलनमा बेपत्ता हुनुभएका नागरिक र उहाँहरुका पीडित परिवारप्रति सम्मान पनि व्यक्त गरिएको छ ।’

वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्नुपर्ने आजको आवश्यकता रहेको सन्देशमा उल्लेख गरिएको छ । यही लक्ष्यका साथ आजको नेतृत्व आगाडि बढ्नुपर्छ, यही लक्ष्य प्राप्तिका लागि गठन भएको वर्तमान सरकारका तीन तहकै सरकारले आ–आफ्नो क्षेत्रमा अत्यन्त जवाफदेहीतापूर्ण ढङ्गले लाग्नुपर्ने कुरा शुभकामना सन्देशमा प्रमुख ‘प्यासी’ले उल्लेख गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनमा जनताले देखाएको उत्साहको सम्मान गर्नुभएको छ ।

उहाँले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रका जनताका आवश्यकतालाई मर्मज्ञ बनी समाधानको दिशातर्फ लम्कनुपर्ने भन्दै सन्देशमा सबैले एक ढिक्का भएर आजको आवश्यकतालाई पूरा गर्न हरेक अप्ठ्यारासँग भिड्ने र समाधानको दिशातर्फ उन्मुख हुँदै रचनात्मक परिणाम ल्याउन सबै देशवासीलाई आग्रह गर्नुभएको छ ।

यसै गरी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न उत्प्रेरणा मिलोस् भन्नुभएको छ । विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले सन्देशमा हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौं भन्नुभएको छ ।

मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गर्नु भएको छ । उहाँले सहिदहरूप्रति श्रद्धासुमन व्यक्क्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.