जन सरोकार

पोखरादेखि जोमसोम उडेको जहाज सम्पर्कविहीन

गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो ।

यसबीच गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उहाँले निर्देशन दिनुभएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिनुभयो ।

जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उहाँले जानकारी दिनुभयो । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.