हराएको विमान खोज्न उडेको हेलिकोप्टर फर्कियो
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएपछि खोजीमा निस्किएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
प्रजिअ शर्माले फिस्टेलको हेलिकोप्टरले कुनै जानकारी लिन नसकी फर्केको र केही बेरमा नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रतर्फ जाने बताउनुभयो ।
थासाङ गाउँपालिका कोबाङका स्थानीय वासिन्दा एवम् मिर मुखिया ज्वार भट्टचनले हल्का वर्षा एवम् बाक्लो कुहिरोको कारणले गर्दा विमानको खोजी गर्न समस्या भएको बताउनुभयो ।
पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडान भरेको (९ एन एइटी) बिमान बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा आएको भए पनि त्यसपछि सम्पर्कविहिन भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरमा सम्पर्क भएको भए पनि त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो ।
पोखराबाट घोडेपानी माथिको आकाश हुँदै मुस्ताङको आकासमा प्रवेश गरेपछि धौलागिरी हिमालतर्फ मोडिएको भन्ने जानकारी आएको भए पनि अन्य कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
चालक दलका ३ सदस्य, ६ विदेशी र १३ नेपाली गरी २२ जना यात्रु रहेको सो विमान मुस्ताङको थासाङ गाउँपालिकाको लेते र टुकुचेको बीचमा पर्ने पहाड क्षेत्रबाट बिमान सम्पर्क बिहीन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्