६८ वर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिने घोषणा गर्नेलाई सम्मान
सरकारले चालू आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । साथै सरकारले वृद्धभत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा पनि गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमाा आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो । यसअघि भत्ता पाउने उमेर ७० वर्ष थियो ।
यसअघि सरकारले ६५ वर्षमै वृद्धभत्ता दिनेबारे छलफल चलाएको थियो । तर, बजेटमा ६८ वर्ष पुगेकालाई मात्रै दिने गरी व्यवस्था भएको हो ।
यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउबा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरे पनि संसदीय निर्वाचनपछि बनेको सरकारले सो निर्णय खारेज गरेको थियो ।
२०७४ सालमा पनि नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकारले ७० वर्ष पुगेपछि पाइने वृद्ध भत्ता ६५ वर्षकै उमेरदेखि दिन थाल्ने निर्णय गरेको थियो ।
तर, पाँच वर्षमा वृद्धभत्ता ५ हजार पुर्याउने चुनावी प्रतिबद्धता गरेर सत्तामा फर्किएको तत्कालीन नेकपाले २ हजार रहेको वृद्धभत्ता ४ हजार रुपैयाँसम्म पुर्याएको थियो ।
आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्तिले पाउने भत्ता पनि साविकको भन्दा ३३ प्रतिशतले बढाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्