खेलविविध

बिजुक्छेँद्वारा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीलाई सम्मान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले तीन वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुभएको छ ।

खेलाडीलाई सम्मान

भक्तपुर नगरपालिकाको मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले २०७७, २०७८ र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी एवं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्री र निर्णायकलाई सम्मान गर्नुभएको हो ।

खेलकुदलाई व्यक्तिगत स्वार्थ र पदीय लुछाचुँडीको विषय बनाउन नहुने भन्दै अध्यक्ष बिजुक्छेँले मित्रता र सहयोगको भावनालाई कायम राख्न खेलाडी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । खेलकुद मानवजीवन र सिङ्गो समाजको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको बताउँदै उहाँले स्वस्थ जीवन जीउन एवं देश तथा समाजको सेवा गर्न खेलकुदको ठूलो भूमिका हुने चर्चा गर्नुभयो । अध्यक्ष बिजुक्छेँले खेलकुद अनुशासनको पर्याय भएको भन्दै खेलकुदको महत्त्वको विषयमा युवालाई शिक्षित गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि खेलकुद क्षेत्रमा कुनै उल्लेख्य काम हुन नसकेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलको माध्यमबाट भक्तपुरको नाम उच्च राख्न युवाले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । भौतिक पूर्वाधारको अभावका बीच पनि भक्तपुरका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो खेल प्रदर्शन गरिरहेको बताउँदै भक्तपुरमा खेलकुदको पूर्वाधार विकास गर्ने विषयमा युवा तथा खेलकुद समितिले क्रियाशीलता देखाइरहेको छ भन्नुभयो ।

भक्तपुर नपाले भलिबल, टेबलटेनिस, कबड्डी, जिम्नास्टिक, शारीरिक सुगठन, पावर लिफ्टिङ, बक्सिङ, टेनिस, भारोत्तोलन, उसु, बास्केटबल, किक बक्सिङ, ब्याटमिन्टन, सितेरियो कराँते, खोखो, एथलेटिक्स, पोर्टबल, बुद्धिचाल, फुटबललगायतका खेल विधाका वर्ष उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय पदक प्राप्त एक सय ३९ खेलाडी, रेफ्री, निर्णायक र प्रशिक्षकलाई सम्मान गरेको नपाकी उपप्रमुख रजनी जोशीले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.