जन सरोकार

‘राम्रो भए भाग्यमानी, नराम्रो भए अभागी’

बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उहाँ दुईपटक मात्र घर आउनुभयो । यही बीचमा उहाँका दुई छोरा जन्मिएका छन् । सुत्केरी हुँदा सुनारले श्रीमानको माया र साथ पाउनुभएन । सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमानलाई निकै सम्झिनुभयो ।

एक वर्षअघि मात्रै सुनारका श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । अहिले एघार र छ वर्षका छोरासँग जीवन बिताइरहनुभएकी उनीलाई वैदेशिक रोजगारीबाट श्रीमानलाई समयमै फर्काउन नसकेको पीडाले पोल्छ ।

फोनमा जतिबेला पनि फर्कनुभन्दा पनि एक वर्ष अरू बस्छु भन्दै टारिरहनुभयो । बिहे गरेर पनि लामोसमय सँगै बस्न पाइएन । उहाँले भन्नुभयो, “अहिले छोरा टुहुरा भए, मलाई पनि जिन्दगी चलाउन गाह्रो छ ।”

वैदेशिक रोजगारीमा गएकाका श्रीमती कसरी बाँचेका होलान्, अवस्था कस्तो होला भनेर समाजले नबुझेको विषयमा सुनारले गुनासो पोख्नुभयो । “राम्रो भयो भने भाग्यमानी भन्ने समाज श्रीमानको मृत्युपछि त्यही श्रीमानलाई खाई भनेर टोकेसो गर्छन्”, उहाँले भन्नुभयो, “हाम्रो भावना बुझिदिने त कोही छँदै छैन ।”

सुनारको जस्तै पीडा बाँकेकै कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको पनि छ । उनीको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो । भविष्य सुरक्षित गर्न भन्दै श्रीमानलाई मलेसिया पठाउनुभयो । थोरै रहर र धेरै बाध्यताका बीच उनीले श्रीमानलाई मलेसिया जान अनुमति दिनुभएको हो । एक–दुई गर्दै वर्ष थपिँदै गए । तर श्रीमान् अहिलेसम्म फर्कनुभएको छैन ।

एक–एक वर्ष भिसा थप गर्दै उहाँका श्रीमान् उतै बस्न थाल्नुभयो । दश वर्ष बितिसक्दा पनि श्रीमान् अहिलेसम्म घर नफर्किएको रानाले सुनाउनुभयो । “छोराछोरी बाबुबिनाका सन्तानजस्तै भएका छन्”, उहाँले भन्नुभयो, “श्रीमानले दुःख गरेर कमाएको भन्दै राम्रो लगाउन र मीठो खान सकिनँ, पखाईमै जवानी बित्यो ।” मलेसिया गएको केही वर्षपछि श्रीमान् राजेन्द्र रानाले फोन गर्न छाडेको मीनाले गुनासो गर्नुभयो ।

“पैसा पनि पठाउन छाडे”, उहाँले भन्नुभयो, “करकापपछि छोराछोरीको पढाइका लागि भन्दै थोरै पैसा पठाउँथे ।” अहिले त त्यही पैसा पनि पठाउन छाडेको उहाँले सुनाउनुभयो । “अहिले त नेपाल आउन नसक्ने भन्छन्”, उहाँले भन्नुभयो, “मन बेचैन छ । सोच्दासोच्दै मानसिकरूपमा बिरामी पर्न थालेको छु । अहिले मलाई पेटसम्बन्धी समस्याले सताएको छ । पैसा छैन उपचार गर्न सक्ने अवस्था पनि छैन ।”

“जसका लागि भनेर मैले परिवार हेरेर १० वर्ष पर्खेँ, उसैले तँसँग मेरो कुनै सरोकार छैन, म अब फर्किन्न भन्यो”, उहाँले आँशु खसाल्दै भन्नुभयो, “अब मैले कसरी गुजारा गर्ने रु छोराछोरी कसरी पाल्ने रु ममाथि अन्याय भयो ।”

राना अहिले छोराछोरीका साथ नेपालगन्जमा कोठा भाडामा लिएर बसिरहनुभएको छ । छोरी अढाइ वर्ष र छोरा पाँच वर्षको हुँदा उहाँका श्रीमान् मलेसिया जानुभएको हो । अहिले उहाँको छोरा १५ वर्ष छोरी साढे १२ वर्षको भइसकेका छन् ।

“मेरा छोराछोरीले बाबाको माया पाउन सकेनन्”, उहाँले भन्नुभयो, “स्कुलमा बुवालाई बोलाऊ भन्दा छोरी रुँदै घर फर्केर आउँछे, त्यो आँशुको मूल्य कसले बुझिदिने ?” जाजरकोटबाट नेपालगन्ज झर्नुभएकी मीनाले अहिले गिट्टी–बालुवा बोक्दै छोराछोरीको जिम्मेवारीसँगै आफूलाई पालिरहनुभएको छ । श्रीमान् फर्केर आएपछि परिवारसँगै मिलेर बस्ने सुन्दर सपना बुन्नुभएकी रानाको सपना सपनामै सीमित रह्यो ।

“उतै बिहे गरेको सुनेकी छु, आफ्नो दुःख कसलाई सुनाउँ रु”, उहाँले गहभरि आँशु पार्दै भन्नुभयो, “मेरा लागि नभए पनि छोराछोरीको मुख हेरेर भए पनि फर्केर आएहुन्थ्यो ।”

श्रीमानको व्यवहारले आजित भएर उहाँले विदेश जाने निधोसमेत गर्नुभएकी रानाले राहदानी पनि बनाएको बताउनुभयो । तर छोराछोरी एक्लै छाडेर जाने हिम्मत नभएको उहाँले बताउनुभयो । “म त घर न घाटकी भएँ, विदेश नजाउँ छोराछोरी कसरी हुर्काउँ, पढाउँ रु”, उहाँले भन्नुभयो, ‘जाउँ भने छोराछोरीलाई कसरी एक्लै छाडेर जाउँ रु”

वैदेशिक रोजगारमा गएर घर नफर्किएका श्रीमान्का कारण श्रीमतीहरूले भोग्नुपरेको पीडाको विषयमा अधिकारकर्मी सपनाश्री भट्टराईले जति नै हिंसा भए पनि सामाजिक इज्जतका कारण पनि वैदेशिक रोजगारमा गएका पुरुषका पत्नी खुलेर नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा गएका श्रीमान्ले घर धानेर बसेका श्रीमतीलाई अनावश्यकरूपमा शङ्का गर्ने, पैसा नपठाउने र घरै नफर्कने कारणले कति महिला मानसिकरूपले पीडित बनेका छन् । ”

उहाँले भन्नुभयो, “विदेशमा बसेर घरमा घर धानिरहेकी श्रीमतीमाथि अनावश्यक शङ्का गरेर पैसा नपठाउने र घरै नफर्कने कारणले धेरै महिला मानसिकरूपमा पीडित बनेका छन् । महिला आफ्नै इज्जतका कारण पनि खुल्न सक्दैनन् ।” वैदेशिक रोजगारीमा गएका श्रीमान्ले पैसा नपठाउँदा र घर–परिवारप्रति वास्तै नगर्दा पनि महिला न्यायका लागि प्रहरीसम्म पुग्न नचाहेको उहाँको भनाइ छ ।

जिल्ला महिला बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षेत्रीले विदेशमा बेपत्ता भएका वा घर नआउने श्रीमान्बारे अहिलेसम्म कुनै उजुरी नपरेको बताउनुभयो ।

उहाँले विदेश बसेको श्रीमान्लाई झिकाउन नसके पनि सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेश बसेको श्रीमान्लाई झिकाउन त सक्दैनौँ तर सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न त सक्छौँ भनेर हामीसम्म आइपुगेका मुद्दामा भने हाम्रो भूमिका केवल सहयोगीको मात्रै रहेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.