सामाजिक सञ्जालबाट मानसिक यातना दिए कारबाही
सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला अब फेसबुक, ट्वीटर जस्ता सञ्जालबाट महिलालाई मानसिक यातना दिइएको उजुरी परे कारबाही हुने भएको छ ।
बिहिबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पत्रकार सम्मेलनमा सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बतानुभएको हो ।
हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताउनुभएपछि महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो ।
महानिरीक्षक सिंहले प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताउँदै कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने सुझाव समेत दिनुभया ।
नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मभन्दा अगाडिका प्रहरी प्रमुखको प्राथमिकता नै मेरो प्राथमकिता हो, अर्को हुँदैन । वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता हो ।’
त्यस्तै पत्रकार सम्मेलनमा सिंहले प्रहरी कर्मचारका लागि घट्दो संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पनि पहल गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्