भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्कने नेपालीलाई दूताबासको सूचना, हजारौं विद्यार्थीहरु हवाई उद्धारको प्रतिक्षामा
कोरोना भाइरस संक्रमणको महामारीका कारण लकडाउनमा परी स्वदेश फर्कन नपाएर भारतमा अलपत्र परेका, वा स्वदेश फर्कन चाहने नेपालीहरुका लागि नेपाल सरकारको निर्णय अनुसार दिल्लीस्थित नेपाली दूताबासले एक सूचना सार्वजनिक गरी स्थलमार्गबाट स्वदेश फर्कन आवश्यक जानकारी दिएको छ ।
नेपाली दूताबास नयाँ दिल्लीले भारतबाट नेपाल फर्कन चाहने नेपालीहरुले २० वटा नाका प्रयोग गर्नसक्ने र अहिले भारतमा पनि समाजिक दूरी कायम गरी यातायात तथा आवागमन सुचारु भएकाले त्यसको पालना गरी नेपाल सरकारले तोकेको मापदण्ड र शर्त पूरा गर्न सूचित गरिएको छ ।
नेपाल सरकारको निर्णय अनुसार देशकका विभिन्न २० नाकाबाट स्वदेश प्रवेश गर्न सकिने र सीमा वार गरेपछि आवश्यक सबै शर्त पूरा गर्न दूताबासले आव्हान गरेको छ । त्यसो त लकडाउन सुरु भययता पाँच लाखभन्दा बढी नेपाली नेपाल प्रवेश गरिसकेका र अझै सीमा नाकामा हजारौंको संख्यामा रहेका छन् ।
उता भारतमा अध्ययन गरिरहेका र अहिले उतै परेका नेपालीहरु विद्यार्थीहरुको हकमा भने दूताबासले कुनै निर्णय गरेको छैन । भारतमा अहिले पनि हजारौं नेपाली विद्यार्थीहरु भारतका औद्योगिक तथा शैक्षिक केन्द्र मानिने शहहरुमा बसिरहेका छन् ।
स्थलमार्गबाट नेपाल आउन निकै गाह्रो हुने भारतका विभिन्न शहरमा रहेका उनीहरुको उद्धारका लागि सरकारले कुनै निर्णय गरेको छैन । भारतमा रहेका र नेपाल आउन चाहने सबैको उद्धार गर्नुपर्ने भए पनि अहिले हवाई मार्गबाट नेपाल फर्काइने विषयमा दूताबासले केही बोलेको छैन ।
सरकारले भारतमा रहेका नेपालीहरुको उद्धारका लागि तत्काललाई स्थलमार्गको मात्र प्रयोग गर्ने नीतिका कारण बैंगलोर लगायतका शहरमा रहेका नेपाली विद्यार्थीहरु निकै आक्रोशित भएका छन् । उनीहरुले सरकारले तत्काल आफूहरुको पनि उद्धार गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्