नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको छ ।
फोकस नेपाल संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको हो ।
“नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका हिसाबले समुन्नत छ, यसको प्रचारप्रसार गर्ने काममा सामाजिक सङ्घ संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । निःस्वार्थ सेवाभावका साथ सामाजिक सङ्घ संस्थाले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभामुख घिमिरेले समाजसेवा महान कार्य भएकाले त्यसमार्फत समाजलाई माथि उठाउन सकिने बताउनुभयो । उहाँले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको भन्दै त्यसको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घ संस्थाले नजिक बनाएको बताउनुभयो । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्