कति मात्रा आउला अमेरिकाबाट नेपाललाई खोप
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना बिरुद्धको खोप अनुदानमा उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरेको केही दिनमै अमेरिकाले नेपाललाई खोप दिने घोषणा गरेको समाचार आयो । तर, कति मात्रा खोप आउँछ र कहिले आउँछ भन्ने स्पष्ट पारिएको छैन ।
नेपालस्थित अमेरिकी दूताबासले विज्ञप्तिमार्फत यो कुराको जानकारी दिए पनि अमेरिकाले कति खोप दिंदैछ भन्ने स्पष्ट खुलेको छैन । अमेरिकाले नेपालसहितका देशलाई खोप उपलब्ध गराउने भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गर्नुभएको थियो । ती खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ ।
कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो ।
उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ । जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ ।
भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ । अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ ।
बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ । यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन । उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ ।
नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको औपचारिक जानकारी दिइसकेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।
कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा भएको छैन । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ ।
साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौंँ ”, विज्ञप्तिमा भनिएको छ । यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
प्रतिक्रिया राख्नुहोस्