जन सरोकार

पत्रकार सदस्यता शुद्धिकरणको नाममा आस्थाका आधारमा विभेद नगर्न आग्रह

प्रेस चौतारी कास्कीले पत्रकार शुद्धिकरणको नाममा सरकारी संचार माध्यम र राजनीतिक आस्थाका आधारमा विभेद नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । सोमबार सम्पन्न चौतारीको २५ औं साधारणसभाले ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सो आग्रह गरेको हो ।

चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ ।

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न पनि साधारणसभाले माग गरेको छ ।

विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुले नियमित रुपमा श्रमको उचित मूल्य नपाएको र विभिन्न बहानामा सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु हटाउने योजनाहरु सार्वजनिक भइरहेको हुँदा प्रेस चौतारी नेपालको यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मौजुदा पत्रकार कर्मचारीलाई न्यूनतम नियमित र दीर्घकालीन रुपमा पारिश्रमिक उपलब्ध गराउन सबै सञ्चार माध्ययमसमक्ष माग पनि गरेको छ ।

अर्थ मन्त्रालयले बजेट नदिएका कारण जेठ १५ देखि विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने भनी सञ्चार माध्ययमलाई पत्राचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलाई तुरुन्त बजेट उपलब्ध गराउन र आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई आस्थाको आधारमा गरिएको विभेद र अन्यायप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आस्थाका आधारमा कामबाट हटाउने वा हट्न बाध्य पार्ने क्रियाकलाप बन्द गर्न र सरकारी सञ्चार माध्ययममा श्रमजीवि पत्रकारहरुको दीर्घकालीन रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, कार्यान्वयन र नेपाली समाजको सर्वाङ्गीण विकास र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका श्रमजीवि पत्रकारहरुद्धारा मोफसलमा सञ्चालित साना लगानीका सञ्चार माध्यमहरु धराशायी बन्दै गएको अवस्थामा यसलाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विषेश योजना र बजेटको व्यवस्था गर्न माग पनि गरेको छ ।

आम सञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीब्र विकास भइरहेको अवस्थामा प्रविधिको विकाससँगै नयाँ प्रतिभाहरुलाई प्रेस चौतारी नेपालमा संगठित गरी प्रेस चौतारी नेपाललाई श्रमजीवि पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने दृढ संकल्प र प्रण गरेको चौतारीले घोषणपत्रमार्फत् जनाएको छ ।

वर्तमान सरकार नागरिक र नागरिकका सवालप्रति अनुदार देखिएको, सत्ता स्वार्थका लागि विदेशमा गएर आफ्नो भूमि साट्नसमेत तयार रहेको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय रहेको चौतारीको ठहर छ । यसप्रकारका असंवैधानिक र राष्ट्रहितविरुद्धका अभिव्यक्ति तुरुन्त सच्याउन जोडदार आग्रह पनि गरेको छ ।

गहिरिँदै गएको आर्थिक संकटलाई समाधान गर्न सरकार गम्भीर नदेखिँदा पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेकाले पोखरासहित देशभरका पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विषेश प्याकेज ल्याउन प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ ।

साथै, प्रेस चौतारी नेपाल कास्की शाखाको २५ औं साधारणसभा भव्यताको साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

साधारणसभाले प्रेस चौतारी कास्कीका ईञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य रुद्र श्रीषमगरको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो ।

केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता एवं कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साभारणसभामा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.