जन सरोकार

असार मसान्तसम्म यथावस्थामा फोहर उठ्ने, साउनदेखि स्रोतमै छुट्याउनुपर्ने

काठमाडौं उपत्यकामा थुप्रिएको फोहर आजबाट उठ्ने भएको छ । फोहर विसर्जन गर्ने स्थलका स्थानीयबासीको अबरोधका कारण उठन नसकेको फोहर व्यवस्थापनका लागि सोमबार साँझ सहमति भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूबीच सहमति भएअनुसार आजदेखि फोहोर उठ्ने भएको हो ।

काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले आज मंगलबारदेखि असार मसान्तसम्म हालकै अवस्थामा फोहोर उठाइने र साउन लागेपछि भने स्रोतमै छुट्ट्याउनुपर्ने सहमति गरेको छ ।

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९र०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ ।

जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनका आधारमा अधिग्रहण गरिने र गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया सुरु गर्ने सहमति छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श(याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं १, ३, ४ र ककनीका वडा नं १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

ती क्षेत्रका प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने सहमति भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर छ महिनाभित्र सिसडोलको ल्यान्डफिल साइटको प्रक्रिया सुरु गर्ने पनि सहमति छ । बैठकमा काठमाडौँका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल तथा ककनी, धुनीबेँसी, गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.