जन सरोकार

उम्मेदवारको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारको हत्या अभियोगमा पक्राउ परेका रुकुमपूर्वका एक पालिकाका वडाध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।

सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगङ्गा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरूलाई कारागार चलान गर्ने आदेश भएको बताउनुभयो ।

वैशाख १९ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन जुनमाया बुढा माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

निजहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो । वडाध्यक्षमा विजयी हुनुभएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै हुनुहुन्थ्यो ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर परीक्षण गरिएको थियो ।

जेल चलान भएका सिंह गत वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो । उहाँ मतदान हुनुअघि नै पक्राउ परिसक्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.