श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा सल्यान जिल्ला त्रिवेणी गाउँपालिका ६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो ।
यसै गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति रौतहट सिम्रौनगढ नगरपालिका ४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रतिवादी मोहम्मद अफताब आलम समेत भएको विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उता सिरहा, गोलबजार नगरपालिका ३ जम्दह कुपगैरीबाट ६९ वर्षीय कुल बहादुर पुर्वछाने सहित २ जनालाई २ थान भरुवा बन्दुक र लोड भएको छर्रारबारुदहरु सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।
त्यस्तै हरिवन नगरपालिका १ बस्ने २५ वर्षीय गंगा बहादुर थापामगरलाई भरुवा बन्दुक १ थान, बारुद करिब २ सय ग्राम र छर्रा २ सय ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । गंगा बहादुरको घरमा अवैधरूपमा हतियार लुकाई राखेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्