राजनीतिमा पुस्तान्तरण- ७० वर्ष कटेपछि चुनाव लडन नपाउने व्यवस्था गरौं
नेपालको सत्ता राजनीतिमा एकै व्यक्ति कैयौंपटक प्रधानमन्त्री, मन्त्री भैरहने, नयाँ काम केही नहुने, खाली पद मात्र ओगटेर बस्ने प्रवृत्तिको अन्त्यका लागि संविधानमै व्यवस्था गर्न माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पूर्व मन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउने तर नेताहरु बाँचुन्जेल चुनाव लड्न पाउने व्यवस्था अन्त्य गर्नुपर्ने माग गर्नुभएको छ ।
उहाँले संविधानमै सबै राजनीतिक दल एकमत भएर ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने र यसका लागि संविधान संशोधन गर्नुपर्ने पनि सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ । हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं । तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?”
सांसद भट्टराईले आफूहरूले काम गर्नसक्ने प्रधानमन्त्री खोजेको बताउँदै भन्नुभयो “हामीलाई र्याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने प्रधानमन्त्री चाहिएको हो। सबै राजनीतिक दल यो विषयमा एकमत होऔं ।”
प्रतिक्रिया राख्नुहोस्