जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

सिन्धुली, रूकुम पश्‍चिम, धनुषा, झापा र ओखलढुङगामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सिन्धुली, फिक्कल गाउँपालिका-५ झगडेँबेसीस्थित सडकमा प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत मोटरसाइकल चालक धनुषा कमला नगरपालिका-९ घर भई प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुर र मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका-७ घर भएका प्रहरी सहायक हवल्दार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रविन्द्र कुमारको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा र सूर्य कुमारको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । सोल्पाडाडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको थियो । त्यस्तै रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-१ निपानेस्थित सडकमा सल्लेदेखि छिनखेततर्फ जाँदै गरेको क.प्र.०२ ००१ च ०४१३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सुर्खेत गुर्भाकोट गाउँपालिका-८ मेहेलकुना बस्ने ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ समेत तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य तीन जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको छ । यस्तै धनुषा, सबैला नगरपालिका-९ कलुवामोडमा मे.१ त ९३५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मनोज मण्डलको छोरा ३ वर्षीय डेविड मण्डलको आइतबार राति मृत्यु भएको छ ।

घर अगाडि खेल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गोदावरी हस्पिटल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । उता झापा, दमक नगरपालिका-३ मावापुलस्थित सडकमा मे.५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको हो । यता ओखलढुङगा, चिशंखुगढी गाउँपालिका-८ माम्खास्थित सडकबाट बागमती प्रदेश-०२- ०१६ प ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्त बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.