राजनीति

५१ दिनमा लकडाउन हटाउने योजना सार्वजनिक, तत्काललाई सार्वजनिक यातायात नचल्ने, निजीमा जोर विजोर लागू

सरकारले काठमाडौं उपत्यका लगायत देशका कोरोना संक्रमण कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहिबार त्यसको औपचारिक जानकारी दिएको छ । बुधबार मन्त्रिपरिषदले उपत्यका लगायत संक्रमण कम भएका जिल्लामा लकडाउन खुकुलो गर्ने र तीन चरणको नीति तय गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन खुकुलो बनाएको र यसलाई क्रमसः अघि बढाउँदै जाने जानकारी दिनुभएको हो ।

अहिलेसम्म सबै प्रकारका सवारी साधनमा रोक लगाइएकोमा अब निजी साधन भने जोर बिजोर प्रणालीमा चल्नेछन् । तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ । सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ ।

त्यसै गरी मन्त्री खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो । तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले ५१ दिनको योजना अघि सार्दै पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुने गरी निर्णय गरेको छ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ र त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ । तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । संक्रमणको अवस्था कम भयो भने लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ ।

यस्तो छ लकडाउनलाई खुकुलो बनाउँदै जाने सरकारको तीन चरणको तयारी अन्तर्गत पहिलो चरणमा खुल्ने सेवाहरु देहाय बमोजिम रहेका छन्-

पहिलो चरण

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

 लकडाउन जारी रहने

१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

११) पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।

दोस्रो चरणमा

१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३) ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)

४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)

माथि उल्लिखित दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिनेछ ।

तेस्रो चरणमा

१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

२) संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर-जिल्ला आवागमन

३) सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

४) आन्तरिक हवाई उडान

५) होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

६) अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

७) शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)

८) तालिम तथा ट्युसेन केन्द्र

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.