मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्ने : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा उहाँले औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने भन्दै सरकारले नेपाली औषधि उद्योगलाई सधैँ संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले उद्योग सञ्चालनमा कुनै नीतिगत रूपमा समस्या भए त्यसको समाधानका लागि आफू तयार रहेको बताउनुभयो । उहाँले औषधि उद्योगलाई नियमन र संरक्षण गर्दै जानुपर्ने बताउनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीतिनियमहरू कार्यान्वयन गर्न नसकिएको भन्दै सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भएका औषधि गुणस्तरीय रहेको भनाइ राख्नुभयो । उहाँले सरकारले सहयोग गरेको खण्डमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । विदेशबाट आएका औषधिलाई मात्र विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उद्योग फस्टाउन नसकेको उहाँको भनाइ थियो ।
कार्यक्रममा औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाली औषधि उद्योग समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नेपालमै उत्पादन भएका औषधि प्रयोग गर्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले औषधि उद्योगले भोगिरहेका समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्