राजनीति

निजामती कर्मचारी सङ्गठनको ‘नमस्कार अभियान’

नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ ।

सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रूपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को नीतिलाई आफूहरू कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो ।

यही जेठ २७ र २८ गते काठमाडौँमा आयोजित सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाले सो नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाका निष्कर्षहरू सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ कोइरालाले सरकारले नै क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितताका लागि नीति ल्याउनुपर्ने धारणा राख्दै कुनै कर्मचारीका कारण कुनै सेवाग्राहीलाई क्षति हुन गएमा सम्बन्धित कार्यालय वा कर्मचारीबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न माग गर्नुभयो ।

‘समता र सशक्तिकरण ः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ गरिएको सो भेलाले नेपालको संविधान र कानुनले व्यवस्था गरेका महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।

देशभरका करिब सात सय महिला प्रतिनिधि सहभागी भेलाले लिङ्गका आधारमा कसैलाई पनि विभेद नगर्न, अध्ययन, भ्रमण र तालिममा महिला कर्मचारीलाई प्राथमिकता दिन र महिला कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने स्थानमा सेवा गर्ने अवसर दिन माग गरेको छ ।

यस्तै, कार्यास्थलमा हुने लैङ्गिक विभेदलगायत महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य, सबै सरकारी कार्यालयमा स्तनपान कक्षको व्यवस्था र मासिक स्राव हुँदाका समयमा न्यूनतम तीन दिनको व्यवस्था गर्न पनि माग गरिएको छ ।

हाल मुलुकभर एक लाख २५ हजार निजामती कर्मचारी रहेकामा सो सङ्गठनमा ४० हजार सदस्य रहेकामा १५ हजार महिला सदस्य रहका छन् ।

भेलाबाट महिलाको पेसागत व्यावसायिकता विकास गर्न सेवामा रहेका महिला कर्मचारीसँग नवप्रवेशी महिला कर्मचारीलाई आबद्ध गराई महिला कर्मचारीको उत्थानका लागि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

भेलामा सङ्गठनको केन्द्रीय महिला विभागका तर्फबाट उपमहासचिव एवम् महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले प्रस्तुत गर्नुभएको प्रतिवेदमाथि समूहगत छलफल गराइएको थियो । सो भेलाको उद्घाटन शनिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.