केके बालवाङ्मय कला साधना सम्मान घोषणा
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा नेपाली चित्रकलाका सशक्त हस्ती वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले आफ्नै नाममा ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गर्नुभएको छ ।
सो पुरस्कार चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न स्थापना गर्नुभएको हो । आइतबार आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले सो पुरस्कार बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने बताउनुभयो ।
उहाँका अनुसार यसै वर्षको मङ्सिरदेखि पुरस्कार प्रदान गरिने छ । यो सम्मान नगद रु १० हजारसहित हरेक वर्ष एक जनालाई प्रदान गरिने केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो ।
कर्माचार्यले यस पुरस्कारका लागि रु एक लाख ५१ हजारको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । केन्द्रका सल्लाहकारसमेत रहनुभएका कर्माचार्यले चित्रकला क्षेत्रमा योगदान गरेकालाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताउनुभयो ।
हुलाक टिकट डिजाइनमा ख्याति कमाउनुभएका कलाकार कर्माचार्य विसं २००४ मा काठमाडौँमा जन्मिनुभएको हो । मुहारचित्रमा विशेष दक्खल राख्ने कर्माचार्यले चार सयभन्दा बढी टिकट डिजाइन गरिसक्नुभएको छ ।
पृथ्वीनारायण शाहको औँलो ठड्याएको चित्रका कारण चर्चित कर्माचार्यले पाँच पैसादेखि एक रुपैयाँसम्म मुद्रा पनि डिजाइन गर्नुभएको थियो । यसका साथै कर्माचार्यले विभिन्न किताबमा समेत आफ्नो कला पस्किसक्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्