जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पर्सा र मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पर्सा, ठोरी गाउँपालिका-५ हुलाकी सडकस्थित बाघमोर्चा पुल नजिक ब्रहमानगरबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स ७६४ नम्बरको अटो लोडर र बा.५९ प ६३९२ नम्बरको मोटरासाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ सुन्दरटोल बस्ने २९ वर्षीय सुन्दर खवासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । अटो लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ निचुटा र देउरियाको बिच सडकमा बा.१० प ६९८९ नम्बरको मोटरसाइकल ना.२ त ६२३६ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ सुगौली बस्ने सतेन्द्र दास थारूको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको द साउथ सिटि हिमालय हस्पिटलमा उपचार भइरहेको छ । उक्त मोटरसाइकल ना.५१ प १२४६ नम्बरको मोटरसाइकलमा ठक्कर खाई पुन: ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो । ट्याक्टर चालक र ना.५१ प १२४६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-७ रमनटारस्थित सडकमा ना.७ ख ८४४९ नम्बरको टिपरले बा.प्र ०२-०३०प १६३१ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ बस्ने ४७ वर्षीय दील बहादुर टण्डन क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्‍यक उद्दार कार्य गर्नुका साथै दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.