समाचार

मोहन चरण माझीद्वारा उडिसा र चन्द्रबाबु नायडूद्वारा आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण

मोहन चरण माझीले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उडिसाको पहिलो भारतीय जनता पार्टी (भाजपा) सरकारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

माझीद्वारा उडिसा र चन्द्रबाबु नायडू

शपथ ग्रहण समारोह उडिसाको भुवनेश्वरस्थित जनता मैदानमा भएको थियो । माझीसँगै दुई उपमुख्यमन्त्री कनक वर्धन सिंह देव र प्रवती परिडाले पनि शपथ लिनुभयो । उडिसाका गभर्नर रघुबर दासले विधायकहरूसँगै राज्यको पहिलो भाजपा मुख्यमन्त्रीलाई शपथ गराउनुभयो ।

चौबिस वर्षसम्म उडिसाको मुख्यमन्त्री रहनुभएका बिजु जनता दल (बिजद) का नेता नवीन पटनायक पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो । हालै सम्पन्न विधानसभा निर्वाचनमा आफ्नो जोडदार प्रदर्शनसँगै बिजदलाई हराएपछि उडिसामा यो पहिलो भाजपा सरकार हो । यसबाट बिजदको २४ वर्ष पुरानो शासनकालको अन्त्य भएको छ ।

सन्थाली जनजातिका ५२ वर्षीय माझी राज्यको किनझार जिल्लाका बासिन्दा हुनुहुन्छ । उहाँ मङ्गलबार उडिसामा भाजपा विधायक दलको नेता निर्वाचित हुनुभएको थियो ।

सन् १९९७ देखि २००० सम्म सरपञ्चका रूपमा आफ्नो राजनीति सुरु गर्नुभएका माझी सन् २००० मा पहिलो पटक किनझारबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००४ मा पुनः निर्वाचित हुनुभयो । सन् २००५ देखि २००९ सम्म उहाँ बिजद–भाजपा गठबन्धन सरकारमा सरकारका उपप्रमुख सचेतक हुनुहुन्थ्यो । सन् २०१९ मा उहाँ फेरि विधायकका रूपमा निर्वाचित हुनुभयो ।

उडिसा विधानसभा चुनावमा भाजपाले एक सय ४७ मध्ये ७८ सिट जितेको छ । तेल्गु देशम पार्टी (टिडिपी) का प्रमुख एन चन्द्रबाबु नायडूले बुधबार आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्री अमित शाह, जेपी नड्डा, नितिन गडकरी मेगास्टारहरू चिरञ्जीवी र रजनीकान्तलगायतको उपस्थिति थियो ।

नायडूले आन्ध्र प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्यभार ग्रहण गरेको यो चौथो पटक हो । साथै सन् २०१४ मा तत्कालीन राज्यको विभाजनपछिको यो दोस्रो पटक हो । नायडूले टिडिपी–भाजपा–जनसेनासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एडिए) लाई विधानसभाका साथै संसदीय निर्वाचनमा भारी जित दिलाउनुभएको थियो ।

टिडिपी, जनसेना र भाजपा विधायकहरूको मङ्गलबारको बैठकमा टिडिपी प्रमुख नायडूलाई सर्वसम्मतिले आन्ध्र विधानसभामा एनडिएको नेता चयन गरिएको थियो ।

टिडिपीसँग आन्ध्र प्रदेशको एक सय ७५ सदस्यीय विधानसभामा एक सय ३५ विधायकको बहुमत रहेको छ । यसका सहयोगी जनसेना पार्टी र भाजपासँग क्रमशः २१ र ५ सीट छन् । विपक्षी वाइएसआर काङ्ग्रेस पार्टीसँग ११ विधायक रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.