अमेरिका र वेस्टइन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ मा वेस्टइन्डिजले लगातार तेस्रो जित निकालेको छ । बिहीबार विहान भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्टइन्डिजले लगातार तेस्रो जित निकाल्यो ।
जितसँगै वेस्टइन्डिज सुपर-८ मा प्रवेश गरेको छ भने लगातार दोस्रो हार व्यहोरेको न्युजिल्याण्डको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । त्रिनिडाड स्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । वेस्टइन्डिजका लागि सर्फन रुथफोर्डले अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरनले १७ रन जोड्दा अकिल होसेइनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रन बनाए ।
न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने टिम साउदी, लक्की फर्गुसनले समान २-२ विकेट लिँदा जेम्स निसम र मिचेल स्यान्टनरको भागमा समान १-१ विकेट रह्यो । वेस्टइन्डिजले दिएको १ सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको न्युजिल्याण्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । उसक लागि ग्लेन फ्लिप्सले ४० रन बनाए भने फिन एलेनले २६ रन जोडे । त्यस्तै मिचेल स्यान्टनरले २१ रन जोड्दा ड्यारी मिचेलले १२ र रचिन रविन्द्र र जेम्स निसमले समान १०-१० रन बनाए ।
वेस्टइन्डिजका लागि अल्जारी जोसेफले ४ विकेट लिए भने गुडाकेश मोटाइले ३ विकेट लिँदा अकेल होसेइन र आन्द्रे रसेलका नाममा समान १-१ विकेट रह्यो । जितसँगै वेस्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा प्रवेश गरेको छ भने अंकविहीन न्युजिल्याण्ड पुछारमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्