राजनीति

सांसदहरुको स्त्रीद्वेषी अभिव्यक्तिप्रति मन्त्री श्रेष्ठको आपत्ति

शिक्षामन्त्री सुमना श्रेष्ठले बुधबारको प्रतिनिधिसभा बैठकमा दुई सांसदले महिलामाथि गरेको टिप्पणीलाई लिएर गम्भीर आपत्ति जनाउँदै स्त्रीद्वेषी ती अभिव्यक्ति रेकर्डबाट हटाउने कि राख्ने भन्दै प्रश्न गर्नुभएको छ ।

बुधबारको बैठकमा सांसद राजेन्द्र केसीले शिक्षा मन्त्रालयको विषयमा बोल्दै पुरुष मन्त्री भएको भए सबै क्षेत्र हेर्थे, महिला मन्त्री भएकाले आफ्नो क्षेत्र मात्र हेरेको भन्दै महिला सक्षम हुँदैनन् भन्ने शैलीको अभिव्यक्ति दिनुभएको थियो ।

त्यस्तै अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कारका विषयमा बोल्दै महिलाले पुरुषको रहर पूरा गर्नुपर्ने शैलीको अभिव्यक्ति दिनुभएको थियो ।

यिनै विषयलाई लिएर मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा गम्भीर आपत्ति जनाउँदै यस्ता अभिव्यक्ति संसदको रेकर्डमा राख्ने कि नराख्ने भन्ने प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएको छ-

हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ – “सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।” आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनु भएको छ ।

यसै गरी अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गर्नु भएको छ । समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ ।

उहाँहरुको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरुको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।

समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तिर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो – सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।

हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम हुन् – सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणी । यसबाट थप पुष्टि हुन्छ, कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्छ ।

सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने – रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.