जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

महोत्तरी, बारा, रुपन्देही, काभ्रे र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा ज.१२ प ८८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक बर्दिबास नगरपालिका-१२ बिजलपुरा बस्ने ६० वर्षीय इस्लाम अन्सारीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ डकहास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय दुर्गा दहादुर बज्युको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ स्थित सडकमा लु.२ च ८५३१ नम्बरको कार अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा कार चालक सोही उपमहानगरपालिका-१० बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-३ घर भएका ५६ वर्षीय राम प्रसाद शर्मासमेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

यता काभ्रे, चौरीदेउराली नगरपालिका-८ बिर्ता देउरालीस्थित सडकमा बागमती प्रदेश ०२- ०३० प ३२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा चालक रोशी गाउँपालिका-९ बस्ने २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता सप्तरी, अग्निसाइर कृष्णसावरण गाउँपालिका-१ घोघिदहस्थित सडक छेउमा रोकिराखेको बा.प्रदेश ०३-००१ ख २३७३ नम्बरको ट्रकमा बा.८४ प ४४६४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने १८ वर्षीय आशिष किरण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.