झापामा जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल, ६० लाख संकलन
प्रदेश नं १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका झापामा झापामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढेपछि जनस्तरबाट पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।
झापा बिर्तामोड–२ चारपानेका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपन्नलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’ मार्फत रु ६० लाख सङ्कलन भएपछि जनस्तरबाट ल्याब राख्ने तयारी थालिएको हो ।
अभियान शुरु गरेको महिना दिनसम्म विपन्नलाई खाद्यान्न वितरण गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अभियानले कोरोना परीक्षण प्रयोगशालाको अवधारण अघि सारेको हो । रु एक करोड २५ लाख खर्च गर्दा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सकिने भन्दै अभियन्ता गिरीले भन्नुभयो,– “कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अहिले जिल्लामा रहेका २० भन्दा बढी सामाजिक सङ्घसंस्था र देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् ।”
कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले समेत सहयोग गर्ने जनाएको छ । झापाका १५ वटा स्थानीय तहमा कोरोना परीक्षणका लागि प्रयोग हुने एक/एक सय भिटिएम किट उपलब्ध गराएको समाजले कोरोना परीक्षण ल्याब स्थापनाका लागि रु ३० लाख सहयोग गर्ने तयारी थालेको समाजका उपाध्यक्ष नवीन पोखरेलले बताउनुभयो ।
झापामा कोरोना सङ्क्रमित अझै बढ्दै जाने अवस्था रहेको उहाँले बताउनुभयो । पोखरेलले भन्नुभयो, “झापामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्न सके र यहाँ सङ्कलन गरिएको स्वाब विराटनगर र धरान पुर्याउनु पर्ने थिएन ।”
यसै गरी सरकारी तहबाट मेची अञ्चल अस्पताल भद्रपुरमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पहल शुरु भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार प्रदेश सरकारसँग समन्वय गर्दै ल्याब स्थापना गर्न लागिएको हो । मेची अञ्चल अस्पतालमा राख्नेगरी स्थान चयन गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याब स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिनुभएको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताउनुभयो । अब एक साताभित्र झापामा ल्याब स्थापना हुने उहाँले बताउनुभयो ।
झापामा पहिलोपटक गत वैशाख ११ गते दमक नगरपालिका–३ का ४६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता जिल्लामा सङ्क्रमितको सङ्ख्या प्रदेशमै धेरै भएपछि झापामा नै कोरोना परीक्षणका लागि ल्याब स्थापनाको तयारी थालिएको हो ।
अहिले तीनवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाबाट सङ्कलित स्वाब परीक्षण हुन्छ । समयमै स्वाबको रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकाहरू भगवान पुकार्न बाध्य छन् । प्रदेशमा स्थापना गरिएको ल्याबमा अहिले दैनिक एक हजारदेखि एक हजार २०० जनाको मात्र रिपोर्ट आउने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्