बौद्धमा युवतीको सामूहिक बलात्कार, चारजना पक्राउ
काठमाडौं महानगरपालिका बौद्धस्थित एक होटलमा एक २४ वर्षीय युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । बौद्धस्थित लुङ्ता गेष्टहाउमा होटल संचालकको मिलोमतोमा उनीमाथि बलात्कार भएको हो ।
प्रहरीले बलात्कारमा सङ्लग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेका चारैजनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्