जन सरोकार

वर्षौंदेखि कमलाको दुःख : तीन मिनेटको बाटो डेढ घण्टा

शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा हुनुहुन्थ्यो रामदेव महतो पनि ।

हतार गरेर के गर्नु ! उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला नदी छेउमा पुगेर रोकिनु थियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका–७ का कपिलदेव यादव छुताउँदै रोकिरहनुभएको थियो ।

“छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु”, यादवले मलिन मुद्रामा भन्नुभयो ।

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । “साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ”, उहाँले भन्नुभयो, “यस्तो हविगत होला भन्ने के थाहा ! फँसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।”

यतिबेलै आइपुग्नुभयो धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौंदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाउनुभयो । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारी पुग्ने ।

“के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नु्पर्छ”, उहाँले भन्नुभयो । उहाँले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढ÷दुई घण्टा समय लाग्ने बताउनुभयो ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो ।

स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गरिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिनुभयो ।

“अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै ! कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो ?”, उहाँले भन्नुभयो ।

निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिनुभयो ।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनिले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माण अनिश्चित भयो ।

यही अनिश्चितताबीच गत फागुन १५ मा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको थियो ।

“जनताले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्याएर तत्काल काम गर्न निर्देशन दिन्छु”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभएको थियो । यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरुपमा ठप्प भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.