राजनीति

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री लिम्बू

पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित पार्ने कानुन ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो ।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको उहाँले बताउनुभयो । खेलकुदमा निजी क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने मन्त्री लिम्बूको भनाइ छ ।

खेलकुदका संरचनालाई सङ्घीयताअनुसार विकास गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देशमा सङ्घीय शासन व्यवस्था सुरु भएको पाँच वर्ष पूरा भइसकेको छ । अब पनि पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन गर्नु आवश्यक छ ।”

प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई सङ्घीयताअनुसार परिर्वतन गर्नुपर्नेमा मन्त्री लिम्बूले जोड दिनुभयो । प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आइटिएफ तेक्वान्दो सङ्घ गण्डकीका अध्यक्ष घमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिनुभयो ।

खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीसमेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.