प्रबास

बेलायतमा गोर्खा समुदायबाट राजदूत नियुक्त गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नेपाली राजदूत नियुक्त गर्दा आदिवासी जनजाति र गोर्खा समुदायबाट गर्न माग गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको हालैको बैठकले बेलायतसहित ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेपछि आगामी राजदूतका लागि एनआरएनए यूकेले सो माग गरेको हो ।

संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउँदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाति र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेलायतवासी नेपाली र गोर्खाहरुको माग रहेको उल्लेख गरेको छ ।

ुएनआरएनए अध्यक्ष प्रेम गाहामगरले पत्रमा बेलायतका लागि अहिलेसम्म २२ जना राजदूत आइसके पनि आदिवासी जनजाती समुदायबाट कोही पनि राजदूत नियुक्त भएको इतिहास नरहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष गाहामगरले भन्नुभएको छ, “बेलायतमा भूतपूर्व गोर्खाहरु र जनजाती वाहुल्य झण्डै ८० प्रतिशत छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ, विगत २०८ वर्षदेखि गोर्खाहरु बेलायती सेनामा कार्यरत छन् । भूतपूर्व गोर्खाहरुले तीन दशक बढी समयदेखि समान पेन्सन लगायत सुविधाका लागि आन्दोलन गरिरहेको अवस्था छ । यस परिप्रेक्ष्यमा नयां राजदूत गोर्खा इष्यू बुझेको, समावेशी र आदिवासी जनजातीबाट होस् भन्ने एनआरएनए यूके तथा बेलायतवासी नेपालीको माग छ ।”

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने सरकारको निर्णयसंगै बेलायतको नेपाली समुदायले अबको नयाँ राजदूत सम्बन्धमा चासो व्यक्त गरिरहेको अध्यक्ष गाहामगरले जनाउनुभएको छ ।

पत्रमा फिर्ता बोलाइएका राजदूत आचार्य बेलायतको नेपाली समुदायमा सबैभन्दा पूर्वाग्रही राजदूत भएको भन्दै उहाँको कार्यशैलीविरुद्ध एनआरएनए यूकेसहित ३४ नेपाली संघसंस्थाले सार्वजनिक रुपमै विद्रोह गरेको स्मरण गराइएको छ ।

“महामहिम आचार्यको नियत शुरु देखि नै खराब रहेपछि म स्वयंले प्रधानमन्त्रीज्यूलाई गत २ मार्च २०२३ र ३० अगष्ट २०२३ मा प्रत्यक्ष भेटेर ध्यानाकर्षण पनि गराएको थिएँ” पत्रमा उल्लेख छ ।

अध्यक्ष गाहामगले नेपाल सरकारका प्राथमिकता अरु धेरै भएकाले आफूहरुको माग नसुने पनि जायज मुद्दामा आवाज उठाइरहने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.