राजनीति

बजेट पुस्तिका यस्सरी च्यातेर हुर्याउन मन छ कि …

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा भौतिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै सांकेतिक रुपमा बजेट पुस्तिका नै च्यातिदिनुभएको छ ।

बजेटमाथि टिप्पणी गर्ने क्रममा पुस्तिका देखाउँदै लिङ्देनले भन्नुभयो “जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर हुर्‍याउने मन छ ।”

“…. तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर जहाँ हुर्‍याउनुपर्ने त्यहाँ चाहि मैले नहुर्‍याएर यहाँ राख्छु (च्यातेको पुस्तिका रोष्ट्रममै छोड्नुभयो) यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्र बाहेकको सबैं प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो”, उहाँले थप्नुभयो ।

बजेट विनियोजन गर्दा मनपरी गरिएको भन्दै लिङ्देनले आपत्ति जनाउँदै भन्नुभयो , “यसरी सामान्य लाजघिन पनि नराखेर राज्यस्रोतमाथि यसप्रकारको मनपरी कति दिनसम्म माननीय सदस्यहरूले सहेर बस्ने हो ? यो पढिने, देखिने चिज हो भन्ने ख्याल र सामान्य लाज पनि नराख्ने ?”

लिङ्देनको प्रतिक्रियालाई साथ दिदै नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताउनुभयो ।

उहाँले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गर्दै लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताउनुभयो ।

सांसद चौधरीले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने स्पष्ट पार्दै मन्त्रीज्युहरू आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बन्नुभएको हो भन्ने प्रश्न गर्नुभयो ।

संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।

उहाँको प्रश्न थियो, “कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? यो चाहीँ नगरौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.